वीरगंज । ‘अग्रगामी मोर्चा’को मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
मोर्चाको मधेश प्रदेश समन्वय समितिको आयोजनामा आज ३ गते शनिबार वीरगञ्जस्थित टाउन हल (नगर सभा गृह) मा कार्यक्रम आयोजना हुँदैछ। रौतहट, बारा र पर्सालाई समेटेर वीरगञ्जमा वृहत् भेला गर्ने निर्णय मोर्चाले यसअघि नै गरेको थियो।
आम जनता पार्टीका मधेश प्रदेश अध्यक्ष तथा मोर्चाका सदस्य उमेश कुशवाहाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रममा मोर्चासँग आबद्ध दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ।
आयोजकका अनुसार कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीलगायत नेताहरूको सहभागिता रहनेछ।
कार्यक्रममा मोर्चाको आगामी राजनीतिक गतिविधि, संगठन सुदृढीकरण, जनपरिचालन तथा मधेश प्रदेशमा संगठन विस्तारलगायत विषयमा छलफल तथा अभिमुखीकरण हुने आयोजकले जनाएको छ। मोर्चाको प्रदेशस्तरीय संरचना गठन र आगामी क्षेत्रीय भेलाबारे यसअघि पनि निर्णय गरिएको थियो।
Comments
Post a Comment