जनकपुरधाम २१ कात्तिक ।
साउदी अरबमा ड्रोन आक्रमणमा परी ज्यान गुमाएका महोत्तरीको पिपरा गाउँपालिका–२ ढेकाहाका ४५ वर्षीय भरत महतोको शनिबार अन्तिम संस्कार गरिएको छ ।
परिवारजन, आफन्त तथा स्थानीयवासीको उपस्थितिमा गरिएको अन्तिम संस्कारमा उनका १२ वर्षीय छोरा राजन महतोले पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।
१४ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका भरतको पार्थिव शरीर शुक्रबार काठमाडौं ल्याइएको थियो । त्यसपछि गृहजिल्ला महोत्तरी पु¥याइएको उनको शवको शनिबार अन्तिम संस्कार गरिएको हो ।
गत कात्तिक ४ गते यमनका हुथी विद्रोहीले साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामकोको परियोजनालाई लक्षित गरी ड्रोन आक्रमण गरेका थिए । उक्त आक्रमणमा परी भरतको मृत्यु भएको थियो ।
उनी अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमार्फत उक्त परियोजनामा सरसफाइको काम गर्दै आएका थिए । लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका भरतको मृत्युले परिवार शोकमा परेको छ ।
यसैबीच, रियादस्थित नेपाली दूतावासको पहलमा भरत कार्यरत कम्पनीले उनको परिवारलाई क्षतिपूर्तिबापत कुल १ लाख ८१ हजार साउदी रियाल उपलब्ध गराउने सहमति भएको जनाइएको छ ।
साउदीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका भरत महतोको १२ वर्षीय छोराले दिए दागबत्ती
news-feed-2
|
November 07, 2026
यो पढेर कस्तो महसूस भयो?
Comments
Post a Comment