Menu

जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

news-feed-2 |
November 07, 2026
Featured

जनकपुरधाम २१ कात्तिक । 
हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व मनाउन व्यस्त रहँदा जनकपुरधाममा हनुमान जयन्ती मनाइएको छ । भगवान हनुमानको पूजा–आराधना, हनुमान चालिसा पाठ र भजनकीर्तन गर्दै श्रद्धालुहरूले जयन्ती मनाएका छन् ।
हनुमान जयन्तीका अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा विशेष धार्मिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा हनुमान चालिसा पाठ, भजनकीर्तन तथा पूजा–आराधना गरिएको थियो । यसअघि परिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकालेर नगर परिक्रमासमेत गरेको थियो ।
परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चककै समयमा हनुमान जयन्ती पर्ने भएकाले अन्य पर्वको तुलनामा यसको चर्चा र उत्सव केही ओझेलमा पर्ने गरेको बताए । यही कारण भगवान हनुमानको जन्मोत्सवलाई विशेष महत्त्व दिएर भव्य रूपमा मनाउन थालिएको उनको भनाइ छ । परिषद्ले विगत २० वर्षदेखि विभिन्न कार्यक्रम गरी हनुमान जयन्ती मनाउँदै आएको उनले जानकारी दिए ।
त्यस्तै, जनकपुरधामस्थित संकटमोचन मन्दिरमा पनि बिहानैदेखि दर्शन तथा पूजाआराधना गर्ने श्रद्धालुहरूको घुइँचो लागेको थियो । भक्तजनहरूले हनुमानको दर्शन गर्नुका साथै सिन्दूर, लड्डु, पान, केरा तथा रातो वस्त्र अर्पण गरी पूजा गरेका थिए ।
धार्मिक मान्यताअनुसार भगवान हनुमानको आराधना गर्दा संकटबाट मुक्ति मिल्ने, शनिग्रहको प्रतिकूल प्रभाव कम हुने तथा भूतप्रेत र नकारात्मक शक्तिको भयबाट जोगिने विश्वास गरिन्छ । विशेषगरी मंगलबार र शनिबार हनुमानको व्रत तथा पूजा गर्ने परम्परा छ । हनुमानको पूजा गर्नाले दाम्पत्य जीवनमा सुख–शान्ति कायम हुने र पति–पत्नीबीचको मनमुटाव हट्ने जनविश्वाससमेत रहँदै आएको छ ।
पण्डित दिगम्बर झा दिनमणिका अनुसार भगवान हनुमानलाई सिन्दूर, लड्डु, पान, केरा, रातो वस्त्र र ध्वजा अर्पण गर्दा प्रसन्न हुने धार्मिक मान्यता छ । जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चन हटाउन तथा शनिदेवको कृपा प्राप्त गर्न पनि हनुमानको आराधना गर्ने परम्परा रहेको उनले बताए ।
हनुमान जयन्ती मनाउने तिथिका विषयमा भने धार्मिक ग्रन्थहरूमा फरक–फरक मत पाइन्छ । कतिपय परम्परामा चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको जन्मोत्सव मनाइन्छ भने कार्तिक कृष्ण पक्षको चतुर्दशी तिथिलाई पनि हनुमान जयन्तीसँग जोडेर मनाउने चलन छ । वायु पुराणलगायतका ग्रन्थमा कार्तिक शुक्ल चतुर्दशीको उल्लेख पाइने धार्मिक व्याख्या पनि छ । तिथिसम्बन्धी मतभिन्नताका कारण विभिन्न स्थानमा फरक समयमा हनुमान जयन्ती मनाउने गरिएको छ ।
हिन्दु धर्मशास्त्रमा भगवान हनुमानलाई भगवान शिवको ११औँ रुद्रावतारका रूपमा वर्णन गरिएको छ । पौराणिक कथाअनुसार माता अञ्जनीको तपस्याबाट प्रसन्न भएर भगवान शिवले उनको पुत्रका रूपमा हनुमानको अवतार लिएका थिए । अष्ट चिरञ्जीवीमध्ये एक मानिने हनुमान आज पनि जीवित रहेको धार्मिक विश्वास छ । त्यसैले उनको जन्मोत्सव तथा विशेष पूजाका अवसरमा रामायणको सुन्दरकाण्ड र हनुमान चालिसा पाठ गर्ने परम्परा छ ।
रामायणमा हनुमानको अद्भुत बल, बुद्धि र भक्तिको विशेष चर्चा गरिएको छ। सीताको खोजीमा समुद्र पार गरेर लंका पुगेका हनुमानले माता सीतालाई भगवान रामको सन्देश सुनाएका थिए । त्यसपछि रावणको लंका दहन गरेको प्रसंग पनि वाल्मीकि रामायणमा उल्लेख छ । भगवान रामप्रतिको निष्ठा, समर्पण र सेवाभावका कारण हनुमानलाई भक्तिको प्रतीकका रूपमा समेत लिने गरिन्छ ।
हनुमानलाई सिन्दूर प्रिय हुनुको पछाडि पनि एउटा रोचक धार्मिक प्रसंग जोडिएको छ । रामायणसँग सम्बन्धित जनश्रुतिअनुसार माता सीताले भगवान रामको दीर्घायु र प्रसन्नताका लागि सिन्दूर लगाउने गरेको बताएपछि हनुमानले पनि राम प्रसन्न होऊन् भन्ने उद्देश्यले आफ्नो सम्पूर्ण शरीरमा सिन्दूर लेपन गरेका थिए । यही मान्यताका कारण आज पनि हनुमानका मूर्तिमा सिन्दूर चढाउने परम्परा प्रचलित छ ।
वैष्णव सम्प्रदायमा हनुमानलाई संकटमोचक, ब्रह्मचारी र सिद्धिदाताका रूपमा पूजा गरिन्छ । भय, रोगव्याधि, शत्रु बाधा तथा विभिन्न संकटबाट मुक्ति पाउन उनको आराधना गर्ने धार्मिक विश्वास छ । अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ प्रकारका योगिक सिद्धि प्राप्त गरेका देवताका रूपमा पनि हनुमानको वर्णन पाइन्छ । रामप्रतिको अनन्य भक्ति र कर्मयोगका कारण हनुमान हिन्दु धर्मावलम्बीहरूका लागि आस्था र प्रेरणाका पात्र मानिन्छन् ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3